
एजेन्सी । चीनको सर्वोच्च संस्थाको रुपमा रहेको तेह्रौं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको तेस्रो अधिवेसन सुरु भएको छ ।
सन् १९९८ देखि नियमित रुपमा मार्च ३ मा सुरु हुने अधिवेसन यस वर्ष भने कोरोना भाइरस महामारीका कारण पूर्व निर्धारित तालिका भन्दा ढिलो सुरु भएको हो ।
गत वर्ष चीनकै वुहान शहरबाट सुरु भएको कोरोना महामारीका कारण २ महिना ढिलो सुरु भएको राजनीतिक गतिविधिले अब चीन पुरानै लयमा फर्कन लागेको बताइएको छ ।
सन् २०२० मा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनले महामारी नियन्त्रण सामान्यीकरण गर्ने र आर्थिक, सामाजिक विकासको कार्यलाई व्यवहारमा उतार्ने विषयमा छलफल गर्ने बताइएको छ ।
सम्मेलनमा राष्ट्रिय लक्ष्यअनुरुप केन्द्रित रहेर गरिबी निवारणको लक्ष्य पूरा गर्ने लडाईँमा विजयी भएर सम्पूर्ण रुपमा सम्पन्न समाजको चौतर्फी निर्माण पूरा गर्न प्रत्याभूति दिने विषयमा समेत छलफल हुने बताइएको छ ।
त्यसैगरी महामारीको पृष्ठभूमिमा चीनले आर्थिक तथा सामाजिक विकासका लक्ष्य कसरी पूरा गर्ने भन्ने विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ ।
सात दिनसम्म चल्ने अधिवेसनमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको स्थायी समितिको कार्य प्रतिवेदनको अनुमोदनका साथै सरकराको कार्य विवरणमा पनि छलफल हुने चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्