१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


रुपन्देही र पाल्पाका पत्रकारको कोरोना रिपोर्ट नेगेटिभ


0
Shares

रुपन्देही, जेठ ८ । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वय र प्रदेश नं ५ को प्रदेशसभा सचिवालयको सहयोगमा आज बुटवलमा पत्रकारको कोरोना परीक्षण गरिएको छ ।

कोरोना संक्रमणका समयमा पनि स्थलगत सक्रिय रिपोर्टिङ गर्ने ४० पत्रकारको आरडिटी  गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको महासंघका अध्यक्ष यानेन्द्र जिसीले जानकारी दिए ।

खुला सीमाका कारण जिल्लामा कोरोना संक्रमित बढ्दै जाँदा पत्रकारमा समेत त्रास देखिएकाले प्रदेशसभा सचिवालयलाई अनुरोध गरी परीक्षणको व्यवस्था मिलाइएको अध्यक्ष जिसीले बताए ।

“पहिलो चरणमा ३५ जनाको आरडिटी  भएको छ, अब अर्को चरणमा अरु सदस्यलाई समेट्छौंँ”, उनले भने ।

महासंघले पत्रकारका लागि विभिन्न चरणमा सुरक्षा सामग्रीसमेत वितरण गर्दै आएको छ । कोरोना संक्रमण शुरु भएदेखि तीन चरणमा पत्रकारलाई मास्क, पञ्जा, स्यानिटाइजरलगायत सामग्री वितरण गरिएको सचिव रामप्रसाद आचार्यले बताए । उनका अनुसार महासंघका सदस्य नभए पनि मिडियामा क्रियाशील सबै पत्रकारलाई सुरक्षा सामग्री उपलब्ध गराइएको छ ।

तानसेन– नेपाल पत्रकार महासंघ पाल्पाको आयोजना र स्वास्थ्य कार्यालयको संयोजनमा क्रियाशील पत्रकारको आज कोरोना परीक्षण गरिएको छ ।

कोभिड –१९  को संक्रमण फैलिँदै गएपछि जिल्लाका ३६ पत्रकारको आरडिटी गरिएको पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले बताए ।

उनका अनुसार परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

पहिलो चरणमा तानसेनमा परीक्षण गरिएको र दोस्रो चरणमा रामपुरमा परीक्षण गर्ने तयारी गरिएको महासंघका सचिव किरण कौशलले जानकारी दिए । पाल्पामा बिहीबारनै ३९ नेपाली सैनिकको समेत आरडिटी गरिएको छ । रासस