१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


गगनले दिए एसडी मुनीलाई मुखभरीको जवाफ, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रै भूमि हो’


0
Shares

काठमाडौं, जेठ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय प्राध्यापक डा. सुकदेव मुनीलाई नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्न नगर्न चेतावनी दिएका छन् ।

भारतमा नेपाल मामिलाका जानकार मानिने मुनीले नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नयाँ नक्शा एकपक्षीय रुपमा जारी गरेको टिप्पणी गरेपछि थापाले मुनीलाई जवाफ दिएका हुन् ।

मुनीको ट्वीटमा जवाफ फर्काउँदै पूर्वमन्त्रीसमेत रहेका सांसद थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो र यस सम्बन्धमा नेपाल सरकारले चालेको कदममा नेपाली कांग्रेसको दृढतापूर्वक साथ रहेको प्रष्ट पारेका छन् ।

मुनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस कडा र चीनको भाइरस नरम भनेर गरेको टिप्पणीमा भने थापाले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई अवैज्ञानिक भन्दै आफूहरु पनि यस कुरामा असहमत रहेको बताएका छन् ।

मुनीले भने आफ्नो ट्वीटमा प्रधानमन्त्री ओलीले संसदमा भारतीय प्रतीक चिह्न र कोरोना भाइरसका बारेमा गरेको वक्तव्यको आलोचना गर्दै चिनियाँ उक्साहटमा नयाँ नक्शा निकालेको र यो मान्य नहुने टिप्पणी गरेका थिए ।

 

मुनीलाई जवाफ दिनु अगावै गरेको अर्को ट्वीटमा भने थापाले प्रधानमन्त्रीको भाष शैलीप्रति विमती जनाउँदे लेखेका छन्, ‘आफ्नो पदीय मर्यादा बिर्सेर गैरजिम्मेवारीपूर्ण ढङ्गले छुद्र बोल्ने प्रधानमन्त्री केपी ओलीको बानीले कसरी नेपाली पक्षलाई अनावश्यक रक्षात्मक बनाउँदो रहेछ भनेर पनि बुझ्नुहोला।’

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले एक भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले गरेको कोरोना भाइरससम्बन्धि टिप्पणीको रक्षा गर्न नसकिएको सन्दर्भमा उनले यो ट्वीट गरेका थिए ।

थापाले सीमा विवादबारे कांग्रेसको धारणामा थप स्पष्ट हुन चाहनेले भारतीय टेलिभिजन च्यानल रिपब्लिक टीभीमा कांग्रेस नेता रिजालको अन्तर्वार्ता हेर्न आग्रह गर्दै उक्त ट्वीट गरेका थिए ।