१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सत्ता गठबन्धनले एमालेलाई बहुमत ल्याउन रोक्न खोज्दैछन् तर जनताले मत दिन्छन् : अध्यक्ष ओली


221
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत आउनका लागि रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले जति प्रयास गरे पनि नेपाली जनता आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको दाबी गर्नुभयो ।

लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको जिकीर समेत गर्नुभयो ।

सेना र प्रहरी समेत नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढ्छ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागि रहेको आरोप समेत लगाउनुभयो ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने दोहो¥याउनु भयो । देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको उहाँको तर्क थियो ।

अध्यक्ष ओलीले आफूले जस्तो राज्यको नाममा सम्पूर्ण चल, अचल सम्पत्ति दान गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालाई चुनौति दिनु भयो ।

कांग्रेसका नेताले एउटा अखबारमा आफूलाई एक नम्बर भ्रष्टाचारी भनेको प्रसङ्ग उल्लेख गर्दै उहाँले आफू र श्रीमतीको सबै चल, अचल सम्पत्ति आफूले राज्यको, संस्थाको नाममा दान गरेको भन्दै त्यसो गरेर देखाउन चुनौति दिनुभयो ।

ओलीले आफूले राज्यबाट कहिल्यै पनि ठगेर नखाएको र नखाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कांग्रेसले मुलुकमा २१ वर्ष सरकारको नेतृत्व गरे पनि एउटा काम देशका लागि नगरेको दाबीसमेत गर्नुभयो ।