
काठमाडौं, जेठ । नेपालले बुधबार सार्वजनिक गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शाप्रति भारतले आपत्ति जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘नेपालले सार्वजनिक गरेको संशोधित नक्शामा भारतीय भूभाग समेटिएको छ । नेपालले गरेका एकतर्फी कार्य कुनै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन ।’
भूभागको यस्तो कृतिम विस्तारलाई भारतले स्वीकार नगर्नेसमेत विज्ञप्तिमा भनिएको छ । यो कार्य सीमा विवादलाई द्विपक्षीय कूटनीतिक वार्ताका माध्यमद्वारा हल गर्ने पूर्व प्रतिबद्धताको पनि विपरीत भएको विज्ञप्तिमा उल्लेख छ ।
यो विषयमा भारतको पहिलेदेखिको स्थिर अडानबारे नेपाललाई जानकारी भएको पनि जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाल सरकारलाई भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं । साथै सीमा मामिलाको समाधान गर्नका लागि नेपालको राजनीतिक नेतृत्वले सकारात्मक वातावरण बनाउने भारतले आशा राखेको छ ।’
भारतले नोभेम्बरमा यसरी नै एकपक्षीय रुपमा नयाँ राजनीतिक नक्शा जारी गरेको थियो । नेपाली भूभागलाई समेटेर नक्शा जारी गरेको भन्दै नेपालले विरोध गर्नुका साथै कूटनीतिक नोट पठाएको थियो ।
कुनै वार्ता र संवाद नगरी भारतले उल्टै नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेपछि नेपाले पनि भारतले अतिक्रमण गरेको जमीन समेटेर नक्शा सार्वजनक गरेको हो ।
प्रतिक्रिया दिनुहोस्