स्याङ्जा, जेठ ७ । स्याङ्जामा बाहिरबाट तरकारी आयातमा प्रतिबन्ध लगाएपछि गल्याङ नगरपालिकाले बुधबार पहिलोपटक बजार अनुगमन गरेको छ ।
नगरपालिकाले बजारमा तरकारीको अभाव भए/नभएकोबारे अनुगमन गरेको हो ।
बजारमा तरकारी अभाव हुँदै गएको गुनासो बढेपछि स्थानीयस्तरमा बजार अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा बाहिरबाट तरकारी तथा फलफूल नआएको पाइएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।
गण्डकी प्रदेशको मुख्य नाका राम्दीबाट दक्षिणतर्फ कोरोना संक्रमणको जोखिम बढी रहेको भन्दै नगरपालिकाले बाहिरी जिल्लाबाट हरियो तरकारी तथा फलफूल ल्याउन प्रतिबन्ध लगाएको थियो ।
रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लामा कोरोना संक्रमण तीव्र भएपछि तरकारी ल्याउन प्रतिबन्ध लगाइएको हो ।
अनुगमन गर्दा बजार मूल्यमा केही असन्तुलन भएपनि पहिलेको तुलनामा महँगी नबढेको गल्याङ नगरपालिकाका कृषि शाखा प्रमुख शिव ढकालले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्