
नुवाकोट, जेठ ६ । यहाँ मंगलबार झण्डै पाँच सय जनाको र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको छ ।
त्रिशूली अस्पताल र ककनी गाउँपालिकाको सिसडोल क्षेत्रका व्यक्तिको आरडिटी गरिएको हो ।
अस्पताल कर्मचारी र विदुर नगरपालिकाका कर्मचारी गरी १६३ जनाको आरडिटी गरिएकामा आठ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको त्रिशूली अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डन्ट डा रेमकुमार राईले बताए ।
अस्पतालबाट आठ सहित १५ नमूना स्वाब पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएको अस्पतालले जनाएको छ ।
यस्तै ककनी १ र २ को सिसडोल क्षेत्रका पनि आज परीक्षण गरिएको छ । तीन सय ३३ जनाको आरडिटी गरिएकामा १४ जनाको पोजेटिभ देखाएको थियो । आरडिटीमा पोजेटिभ देखाएको १४ जनासहित १५२ जनाको पिसिआर परीक्षणका लागि नमूना संकलन गरी काठमाडौंँ पठाइएका गाउँपालिकाका स्वास्थ्य संयोजक जीवन भट्टराईले जानकारी दिए ।
काठमाडौंं महानगरपालिकाको स्वास्थ्य शाखाको टोली आएर परीक्षण गरिएको थियो । सिलडोल क्षेत्रमा कोरोना भाइरसको परीक्षण हुनुपर्ने माग गर्दै स्थानीयवासीले दुई दिनअघि महानगरपालिकाबाट ल्याइने फोहोर रोकेका थिए ।
सोमबार कोरोना भाइरसको आजदेखि नै परीक्षण गरिने सहमति भई स्थानीयवासीले फोहोर फाल्न गरेको अवरोध हटाएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्