Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


अप्ठयारोमा परेका परिवारलाई गाउँपालिकाले दियो काठमाडौंमै राहत


0
Shares

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले काठमाण्डौं उपत्यकामा रहेका सात सय भन्दा बढी आफ्ना स्थानीयलाई राहत वितरण गरेको छ ।

काठमाडौंमा बसेर बिहान बेलुका छाक टार्न समस्या भएका सात सय भन्दा बढीलाई गाउँपालिकाले खाद्यान्न राहत सहयोग गरेको हो ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागि सरकारले लामो समय गरेको लकडाउनका कारण काठमाण्डौं उपत्यकामा अप्ठयारोमा परेका आफ्ना ५ वटै वडाका नागरिकहरुलाई गाँउपालिकाले राहत वितरण गरेको हो ।

गाँउपालिका अध्यक्ष सागर किराँतीको नेतृत्वको टोली राहत वितरण गर्न काठमाण्डौं आएका हो ।

टोलीले प्रति परिवार १ बोरा चामल, ४ केजी दाल र १ लिटर तेल राहतको रुपमा वितरण गरेको छ ।

काठमाडौंका धुम्बाराही, कपन, गोकर्ण, नयाँबस्ती, टोखा, जावलाखेल, किर्तिपुर, बाफल, कलङ्की, बुढानिलकन्ठ, जडीबुटी, चावाहिल तथा बानियाटार लगायतका  स्थानहरुमा राहत वितरण गरेको छ ।

यो भन्दा अगाडी अति नै समस्यामा परेका ६ सय ४९ जनालाई उद्धार गरी गापाले आफ्नै खर्चमा गाउँ लगेको थियो । बाँकी काठमाडौंमा नै बस्न बाध्य भएकाहरुलाई खोजीखोजी राहत दिएको हो ।

गाउँपालिकाको कोरोना भाईरस विपत कोष तथा जनप्रतिनिधि एवम कर्मचारीहरुको तलब भत्ताबाट जम्मा भएको रकमले राहत वितरण गरेको हो । राहत काठमाडौंमा पाउँदा महाकुलुङवासी खुशी भएका थिए ।

जनप्रतिनिधि हरुको एक महिना एक दिन, प्रशासन अधिकृतको १२ दिन, अधिकृत तह भन्दा मुनीको कर्मचारी तथा शिक्षकहरुको १० दिन र वडाका सबै अध्यक्ष तथा कर्मचारीहरुको तलबसमेत राहत कोषमा जम्मा गरी राहत वितरण गरेको गाउँपालिका प्रमुख सागर किराँतीले बताए ।

राहत कोषमा वडा नं ३ का अध्यक्ष डेक बहादुर कुलुङले आफ्नै स्वईच्छाले सबैभन्दा बढी तीन महिनाको आफ्नो सेवासुविधा जम्मा गरेका थिए ।

स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको हकमा कुनै पनि तलब नकटाउने निर्णय गरेपनि महाकुलुङ स्वास्थ्य संयोजक हरि प्रसाद आर्चाय र अनमी उमा देवी राईले भने स्वघोषित रुपमा ७ दिनको तलब कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।