Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


बजेट घोषणाअनुसार नै कर्मचारीहरूको तलबमान लागू हुन्छ : अर्थमन्त्री शर्मा


2.3k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने आश्वासन दिनुभएको छ ।

बजेट घोषणा विपरीत कर्मचारीहरूको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरूका नेताहरूले सोमबार अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाव दिएका थिए ।

उनीहरूसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिनुभयो ।

५ कर्मचारी संगठनका अध्यक्षहरूसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’गठन गरेर मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरेलसहित निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेले अर्थमन्त्री शर्मालाई भेटेका थिए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रावलले पनि मन्त्री शर्माले अहिले १५ प्रतिशत तलब वृद्धि लागू गर्ने बताएको जानकारी दिनुभयो । साथै मन्त्री शर्माले निजामती सेवाभित्र र बाहिर नमिलेको मर्यादाक्रम लगायतका विषयहरु पनि मिलाउने बताएको रावलको भनाइ छ ।

अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷०८० को बजेटमा सबै राष्ट्र सेवक कर्मचारीहरूको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख थियो ।