लोमान्थाङमा भदौ दोस्रो साता गल्फ च्यालेन्ज हुने « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


लोमान्थाङमा भदौ दोस्रो साता गल्फ च्यालेन्ज हुने


78
Shares

काठमाडौं । विश्वको सबै भन्दा उचाईमा रहेको गल्फ कोर्स लोमान्थाङमा भदौ दोस्रो साता ‘टप अफ दि वल्र्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ ।

मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ३५ मिटर उचाईमा निर्माण गरिएको गल्फ कोर्समा भदौ ११ गते प्रतियोगिता आयोजना हुन लागेको हो ।

उच्च स्थानको गल्फ कोर्स भएपनि पहिचान पाउन भने बाँकी छ । लोमान्थाङ युवा क्लब र लोमान्थाङ गाउँपालिकाको संयुक्त आयोजनामा मुस्ताङ गल्फ कोर्षमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगितामा काठमाडौं र पोखराबाट गरी २४ पुरुष र ४ महिला खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता तीन बाई चार स्टेवलफोर्ड फम्र्याटमा कुल ९ होलमा खेलाइने छ ।

विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्स भारतको सिक्किममा रहेको छ । लोमान्थाङमा प्रतियोगिता आयोजना भएको अवस्थामा नेपालको कोर्सले नयाँ पहिचान पाउने छ । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताबाट गल्फ कोर्सको गुणस्तर पहिचान गर्ने र आवश्यकता अनुसार परिमार्जन गर्दै लगिने आयोजक लोमान्थाङ क्लवले बताएको छ ।

गल्फकोर्स गण्डकी प्रदेशसभा सांसद इन्द्रधारा विष्टको सक्रियतामा निर्माण गरिएको हो । सांसद विकास कोर्षको १० लाख, लोमान्थाङ गाउँपालिका र मुस्ताङका सांसद विष्टको लगानीमा कोर्षको निर्माण भएको जनाइएको छ ।

भविष्यमा नेपालको खेल पर्यटनका लागि सहयोग पुर्‍याउने उदेश्यका साथ गल्फ कोर्सको निर्माण गरिएको र हाई अल्टिच्युडमा खेलाडीलाई अभ्यस्त बनाउने लक्ष्य रहेको बताउनुभयो । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले अग्लो स्थानको गल्फ कोर्सको पहिचानका लागि सरकार र विश्व गल्फ महासंघमा पहल गर्ने बताउँदै अग्लो स्थानको गल्फकोर्सले गल्फको विकासमा सहयोग पुर्‍याउने बताउनुभयो ।