Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


यो सरकारले गुमेको भूमि फिर्ता ल्याउँछ भन्नेमा विश्वास छैनः कांग्रेस नेता गगन थापा


0
Shares

काठमाडौं, जेठ ५ । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गुमेको भूमि फिर्ता ल्याउन सक्नेमा आफूलाई विश्वास नरहेको बताएका छन् ।

संसद बैठकमा सांसद थापाले सीमामा अलपत्र परेका नेपालीहरु र खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन नसकेकोमा सरकारको आलोचना गरे ।

थापाले भने, ‘जसले आफ्नो मान्छे चिन्न सक्दैन । जसले आफ्नो मान्छे जोगाउन सक्दैन । त्यसले माटो जोगाउन पनि सक्दैन । मेरो मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले मेरो भूमि फिर्ता ल्याइदिन्छ भन्ने रत्तिभर पनि भ्रम छैन ।’

सरकारले लिम्पियाधुरासहितको नक्शा सार्वजनिक गर्ने र लुटेको भूमि फिर्ता ल्याउने घोषणा गर्दा सदनमा आफूले समेत टेबुल ठोकेको स्मरण गर्दै उनले तर, घर गएर आफैंलाई प्रश्न गर्दा सरकारले गुमेको भूमि फिर्ता ल्याइदिन्छ भन्ने विश्वास हुन नसकेको जिकिर गरे ।

सांसद थापाले राष्ट्रियता भनेको मान्छे र माटो दुबै भएकामा नझुक्किन सबैलाई आग्रह गरे ।

सांसद थापाले प्रधानमन्त्री ओली अल्पज्ञानीहरुको घेरामा परेको भन्दै भने, ‘ अमेरिकी बैज्ञानिकहरुले गरेको एक अध्ययनले कतिपय अल्पज्ञानीहरुलाई आफु अद्भूत ज्ञानी र क्षमतावान छु भन्ने भ्रम हुन्छ, त्यस्तो मान्छे सामान्य मान्छे भयो भने सामान्य क्षति हुन्छ, तर ठूला जिम्मेबारीमा भएकाहरुमा भयो भने क्षति पनि ठूलो हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए । त्यस्ता अल्पज्ञानीहरुलाई निकटस्थहरुले क्यावात क्यावात भनिरहे भने नेपालले अहिले पाएको जस्तै दुःख पाउनु पर्छ ।’