Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


खेलाडीहरूलाई पेन्सनको व्यवस्था गर्न सांसद गुरुङको माग


91
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रियसभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरूलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरूलाई शिक्षक, कर्मचारीहरूलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो ।

उहाँले सबै उमेर समूहका नागरिकका लागि खेल खेल्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि समेत हुने तथा नागरिकहरू पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद गुरुङले युवाहरुलाई सही बाटोमा ल्याउन पनि खेलकुद क्षेत्रमा उनीहरुको सहभागिता गराउन सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

सांसद गुरुङले युवाहरूलाई परिचालन गरी देशको विकास गर्नुपर्ने आवश्यक्ता भए पनि सरकारले सोही अनुसारको नीति, कार्यक्रम र बजेट ल्याउन नसकेको गुनासो समेत गर्नुभयो ।