
तनहुँ, जेठ ५ । दमौलीस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दीले बन्दाबन्दीका कारण मुढा बुन्न पाएका छैनन् ।
कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा कच्चा पदार्थ नहुँदा मुढा बुन्न नपाएका हुन् ।
कच्चा पदार्थ ल्याउन र उत्पादन सामग्री बजारमा लगेर बिक्री गर्न समस्या भएका कारण कैदीबन्दीको मुढा बुन्ने कार्य रोकिन पुगेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
पच्चिसजना क्षमताको कारागारमा हाल ७७ कैदी र ७५ थुनुवा गरी १५२ जना कैदीबन्दी रहँदै आएका छन् । उनले भने, “क्षमताभन्दा छगुनाभन्दा बढी कैदीबन्दी रहेको यो अहिलेसम्मको उच्च सङ्ख्या हुन सक्छ ।”
कारागारमा यस अघिका बिबरण हेर्दा क्षमता भन्दा चारगुना बढि वा १२५ देखि १४५ सम्म पुगेको देख्न सकिने उनले बताए ।
कारागारमा रहेका कैदीबन्दीमध्ये करिब ७० जनाले व्यावसायिकरुपमा मुढा बुनेर मासिक रु सात हजारदेखि रु १० हजारसम्म कमाएर घरखर्च पठाउने गरेको उनले बताए ।
बन्दाबन्दीका कारण काम गर्न नपाउँदा उनीहरु चिन्तित बनेका छन् । उनले भने, “अहिले केही काम नहुँदा मनोरञ्जनात्मक खेल खेलेर समय बिताउन बाध्य भएका छन् ।”
बन्दाबन्दीका कारण आफन्तजनलाई भेटघाट गर्न आउने कार्यलाई कडाइ गरिएसँगै कारागार क्षेत्र सुनसान हुने गरेको बताइएको छ ।
कोरोना भाइरसलाई मध्यनजर गर्दै कारागार प्रशासनले भेटघाट कार्यलाई कडाइ गरेको हो । उनले भने, “कैदीबन्दीलाई अत्यावश्यक अवस्थाबाहेक प्रवेशमा रोक लगाइएको छ ।”
कारागार परिसरमा निर्माण गरिएको नयाँ बन्दीगृह हस्तान्तरण कार्य नभए पनि कैदीबन्दीको चाप र गर्मी बढेसँगै प्रयोगमा ल्याइएको उनले जानकारी दिए ।
बन्दाबन्दीको समयमा जिल्ला अदालतबाट पठाइएका १२ जना थुनुवालाई नयाँ भवनमा राख्ने व्यवस्था गरिएको छ । उनले भने, “क्षमताभन्दा छगुना बढि कैदीबन्दी राख्नुपर्दा सुत्न र शौचालय जाने समयमा समस्या भोग्नु परेको छ ।”
उक्त भवनको जिम्मा ऋषि शक्ति बिल्डर्स एण्ड इन्जिनीयर्स प्रालि डुम्रेले पाएको थियो । उक्त कम्पनीले सम्झौताअनुरुप निर्माण सम्पन्न गरी हस्तान्तरण गरे पनि प्राविधिक कारणले ढिलाइ भएको कारागार प्रशासनले जनाएको छ ।
कार्यालय भवन, सुरक्षा ब्यारेक र महिला बन्दीगृह गरी तीनवटा भवन भ्याटबाहेक रु ६ करोड ४४ लाखको लागतमा निर्माण गरिएको हो । ८० जना क्षमताको उक्त बन्दीगृह सुविधा सम्पन्न रहेको छ ।
दुई ढलानको उक्त भवनमा पुस्तकालय, भान्छाघर, डाइनिङ हल, सोलारको व्यवस्था, एक गोल घर, चिसो तातो पानीले नुहाउने व्यवस्था, तीनवटा सुरक्षा पोष्टलगायका व्यवस्था रहेका छन् ।
उक्त भवनको उद्घाटन कार्यको तयारी हुँदै गर्दा बन्दबन्दीका कारण रोकिन पुगेको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्