
काठमाडौं, जेठ ४ । नेपाल पर्यटन बोर्डले कोभिड–१९ का कारण प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि २० अर्बको राहत प्याकेज ल्याउन सरकारलाई सिफारिस गरेको छ ।
बोर्डले कोभिडका कारण पर्यटन क्षेत्रमा पुर्याएको असर र यसबाट उद्योग बचाउन अवलम्बन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको हो । प्रतिवेदनले हालको महामारीको अवस्थाबाट सिर्जित विसम परिस्थितिको असरबाट यस क्षेत्रलाई बचाइराख्न पर्यटन क्षेत्रमा कार्यरत मानव संसाधनको पेशागत सुरक्षाका लागि २० अर्बको राहत प्याकेजको कार्यक्रम समेटिएको छ ।
प्रतिवेदनमा पर्यटन क्षेत्रमा आबद्ध कर्मचारी एवं श्रमिकलाई राहत उपलब्ध गराउने, पर्यटन व्यवसायीलाई आर्थिक राहत र सहुलियत उपलब्ध गराउने र पर्यटन क्षेत्रको तत्काल पुनरुत्थानका लागि गर्नुपर्ने केही नीतिगत सुधार रहेका छन् ।
उक्त राहत प्राप्त गर्नका लागि पर्यटन क्षेत्रमा कार्यरत रहेको प्रमाण उपलब्ध गराउनु पर्नेछ । अन्तिम तीन महिनाको तलब बैंकमा जम्मा गरेको प्रमाण, पान दर्ता प्रमाणपत्र, आयकर तिरेको प्रमाण र सामाजिक सुरक्षाकोष मध्ये कुनै पनि प्रमाण पेश गर्नुपर्ने विषय समेटिएको छ ।
यो प्याकेज उपलब्ध गराउन सकिएमा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी एवं मजदुरको जीविकोपार्जनमा सघाई उनीहरुको पलायनलाई रोक्न सकिने बोर्डको धारणा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्