
काठमाडौं । घरेलु टोली भारतले साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।
खेलको दोस्रो मिनेटमा गुर्किरात सिंहले पेनाल्टीमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर, ४५ औं मिनेटमा बंगलादेशका मोहम्मद रोजनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ४८ औं मिनेटमा शाहीम मियाले गोल गर्दै बंगलादेशलाई २–१ को अग्रता दिलाए । ६० औं मिनेटमा गुर्किरातले व्यक्तिगत दोस्रो गोल खेल २–२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको निर्धारित ९० मिनेटमा थप गोल भएन र खेल अतिरिक्त समयमा गएको थियो ।
खेलको ९२ औं मिनेटमा हिमान्सु जान्ग्राले गोल गर्दै भारतलाई ३–२ को अग्रता दिलाए । ९३ औं मिनेटमा गुर्किरातले ह्याट्रिक पूरा गर्दा भारत ४–२ ले अघि रह्यो । त्यसपछि ९९ औं गुर्किरातले व्यक्तिगत चौंथो गोल गर्दै भारतलाई ५–२ को जित दिलाए ।
यस जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदला लिएको छ । बंगलादेशले लिग चरणमा भारतलाई २–१ ले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्