२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन चीनसँग पनि वार्ता गरः नेपाली कांग्रेस


0
Shares

काठमाडौं, जेठ ४ । नेपाली कांग्रेसले लिपुलेकलगायतका समस्याको समाधानका लागि चीनसँग तत्काल वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि पार्टीको धारणा राख्दै कांग्रेस सभापति शेरबहादुर देउवा भारतले नेपाली भूभागमा गरेको अतिक्रमण र सडक निर्माणबारे छिमेकी मुलुक मित्र राष्ट्र चीनसँगसमेत उच्चस्तरमा सार्थक र परिणाममुखी वार्ता गरि समस्याको समाधान गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा देउवाले नेपाली भूमि अतिक्रमण गरिएको विषय नीति तथा कार्यक्रममा पर्नु सकारात्मक भए पनि अपूर्ण रहेको उल्लेख गरे ।

बैठकमा देउवाले भने, ‘नेपाली भूमि अतिक्रमण खास गरि लिम्पीयाधुरा, लिपुलेक र कालापानीबारे नीति कार्यक्रममा उल्लेख भएको विषय सकारात्मक छ तर यो अपूर्ण पनि छ । भारत र चीन दुबै मुलुकले सन २०१५ मा गरेको सहमति अनुरुप नेपाली भूमिमा भारतबाट सडक निर्माण गर्ने काम गरिएको छ ।’

देउवाले आफ्ना पार्टीका नेता सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा सरकारका तर्फबाट विरोधको पत्र पठाएको स्मरण गर्दै भने, ‘दुई छिमेकी मुलुक बिच भएको सहमतिको नेपाली काँग्रेसले तत्काल नै विरोध जनाएको र सुशील कोइराला प्रधानमन्त्री रहनुभएको नेपाली कांग्रेसको नेतृत्वको सरकारले तत्काल प्रोटेस्ट नोट पठाएको म स्मरण गरिरहेको छु । नेपाली भूभागमा भएको अतिक्रमण र सडक निमार्णबारे छिमेकी मुलुक मित्र राष्ट्र चीनसँगसमेत उच्चस्तरमा सार्थक र परिणाममुखी वार्ता गरि समस्याको समाधान गर्नुपर्दछ ।’