लहान, जेठ ३ । सिरहाको लहानस्थित रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णयप्रति स्थानीयबासीले विरोध गरेका छन् ।
यो अस्पताललाई कोरोना विशेष अस्पताल बनाएमा लहान नगर क्षेत्र नै खतरामा पर्नसक्ने भन्दै स्थानीयवासीले प्रदेश नम्बर–२ सरकारको उक्त निर्णयको विरोध गरेका हुन् ।
अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी स्थानीयबासीले लहान अस्पताललाई कोरोना अस्पताल बनाउन नहुने बताएका छन् ।
अस्पताल वरिपरि घना बस्ती भएकाले कोरोना अस्पताल बनाइए सम्भावित खतरा हुनसक्ने भन्दै स्थानीयबासीले खाली रहेको लहानस्थित बलान नदी पुलछेउको कभर्डहलमा कोरोना अस्पताल सञ्चालन गर्न सुझावसमेत दिएका छन् ।
प्रदेश सरकारले अहिले सञ्चालन अवस्थामा रहेको रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेका कारण स्थानीयबासी त्रसित बनेकाले प्रदेश सरकारले यो निर्णय सच्याउनुपर्ने स्थानीयबासी तथा जनता समाजवादी पार्टीका युवा नेता ललितनारायण महतोले बताए ।
गरिब, विपन्न परिवारले सहज उपचार पाइरहेको सो अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णय गलत भएको भन्दै अर्का स्थानीय तथा महिला वडासदस्य नगिना पासवानले यस अस्पताललाई कोरोना उपचार केन्द्र बनाएपछि गरिब, विपन्न उपचारबाट वञ्चित हुने बताइन् ।
प्रदेश नम्बर–२ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सरकारले लहानस्थित सो अस्पताललाई ५० शय्याको कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय केही दिनअघि गरेको थियो ।
प्रदेश नम्बर–२ का आठ जिल्लामध्ये सिरहा जिल्लाबाहेक सातओटा जिल्लामा कोरोना संक्रमण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नम्बर–२ को कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गर्नेगरी तयारी थालिएको छ ।
प्रदेशका सबै जिल्लामा थप ३००/३०० क्षमताको ‘क्वारेन्टाइन’ तयारी अवस्थामा राख्ने निर्णयसमेत प्रदेश सरकारको छ ।
प्रदेश सरकारको निर्णयानुसार दुई दिनअघि सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको स्थलगत निरीक्षण गरी कोरोना अस्पताल सञ्चालनको सम्भावना र चुनौतीको विषयमा आफूहरुसँग छलफलसमेत गरेको स्थानीयबासीको भनाइ छ । रासस








प्रतिक्रिया दिनुहोस्