काठमाडौं । गोदावरी नगरपालिका कार्यपालिकाको बैठक नेकपाबाट निर्वाचित बोर्ड सदस्यहरुले बहिष्कार गरेका छन् ।
२०७७ जेष्ठ २ गते गोदावरी नगरपालिका कार्यपालिकाको बोर्ड बैठक नेकपाका बोर्ड सदस्यहरुले बहिष्कार गरेका हुन् ।
कोरोनाको महामारी रोकथाम र नियन्त्रण,चालु आर्थिक बर्षको विकास आयोजनाहरु सञ्चालन गर्ने विषयमा आयोजित कार्यपालिका बैठक बहिष्कार गरेको बैठकमा सहभागी एक सदस्यले बताए।
‘बैठकमा सहभागी नेकपा बाट निर्वाचित वडा अध्यक्षले हामीलाई सांसदको प्रेसर छ त्यसैले बैठकमा सहभागी हुन सक्दैनौं भने ।
नेकपा बाट निर्वाचित जनप्रतिनिधिहरुले बैठक बहिष्कारको कारण भने गैर राजनीतिक भएको बुझिएको छ ।
नेकपाबाट निर्वाचित गोदावरी नगर क्षेत्र पर्ने प्रदेश सांसद र संघीय सांसदलाई समेत बैठकमा बोलाउनुपर्ने माग राखी बैठक बहिष्कार गरेका छन्।
स्थानिय तह सञ्चालन ऐन, संवैधानिक व्यवस्थामा समेत उल्लेख नभएको माग राखेर बैठक बहिष्कार गर्नु लज्जास्पद रहेको ती सदस्यले बताए ।
बहिष्कारको घट्नापछि कोभिड १९ को महामारीसँगको लडाईमा नेकपा संवेदनशील नभएको आरोप लागेको छ ।
प्राप्त जानकारी अनुसार सांसद र नेकपा गोदावरी पार्टीको दबाबमा बैठक बहिष्कार गर्ने योजना बनाइएको बुझिएको छ ।
ललितपुरका छ वटा स्थानीय तह मध्येको महत्वपुर्ण नगरपालिकाको रुपमा गोदावरीमा बहुमत बोर्ड सदस्य नेकपाका रहेका छन् ।
जम्मा २४ सदस्यीय बोर्डमा नेकपा समर्थित १६ जना र नेपाली कांग्रेस समर्थित ८ जना रहेका छन् ।
कार्यसम्पादनका हिसाबले उपत्यकाकै अग्रणी स्थानमा रहेको गोदावरी नगरलाई पत्रकार महासंघ ललितपुरले जिल्लाका स्थानिय तह मध्ये उत्कृष्ट कार्य गरेकोमा गत वर्ष सम्मान गरेको थियो।
नगरपालिकामा गजेन्द्र महर्जन निर्वाचित भएसँगै राजनितिक आस्थाका आधारमा निर्वाचित वडा अध्यक्ष, सदस्यलाई पुर्वाग्रह नराखी विकासका सवालमा सम्पुर्ण जनप्रतिनिधि एक ठाउमा उभिनुपर्ने विचारका साथ नगरपालिका सञ्चालन गर्दै आएका छन्।
नियमित बैठक,परिषद् गरि नमुना प्रस्तुत गर्दै आईरहेको नगरपालिकाले हाल केही स्वार्थ बोकेका नेताहरुको क्रिडास्थल बनाउन खोज्दा आम नागरिकले विकास र नगरबाट पाउनुपर्ने सुबिधा नपाएको गुनासो गरेका छन् ।
साथै कोरोनाको महामारीसँग जुध्न आवश्यक रहेको बेलामा नेकपाको यस्तो गतिविधीले गम्भीर धक्का लागेको छ ।








प्रतिक्रिया दिनुहोस्