३० असार २०८२, सोमबार | Mon Jul 14 2025


‘हाई अल्टीच्युड स्पोर्ट्स ट्रेनिङ सेन्टर’ स्थापना गर्ने घोषणा


0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष नेपालमा ‘हाई अल्टिच्युड स्पोर्ट्स ट्रेनिङ सेन्टर’ स्थापना गर्ने घोषणा गरेको छ ।

सरकारका तपर्फबाट राष्ट्रपति विद्या भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘हाई अल्टीच्युड स्पोर्ट्स ट्रेनिङ सेन्टर’ स्थापना गर्ने घोषणा गरेकी हुन ।

यसअघि युवा तथा खेलकुद मन्त्रालयबाट तालिम केन्द्र स्थापनाको नाममा थोरै रकम विनियोजन गरेर अध्ययन, अनुसन्धान हुँदै आएको थियो ।

यसपटक भने सरकारले नीति तथा कार्यक्रममै उल्लेख गरेर तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेको हो ।

यस्तै, सरकारले राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सक्ने गरी खेलाडीको क्षमता विकास गर्ने बताएको छ । 

यस्तै, सरकारले स्थानीय र प्रादेशिक र राष्ट्रियस्तरमा सुविधा सम्पन्न खेलकुद पूर्वाधारको निर्माण र स्तरउन्नतीको कार्यलाई निरन्तरता दिने बताएको छ ।

सरकारले अघिल्लो वर्षबाटै एक स्थानीय तह, एक खेलग्रामको अवधारणामा काम गर्दै आएको थियो ।

यस वर्ष समेत स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरका सुविधा सम्पन्न खेलकुद पूर्वाधार निर्माण गने सरकारले बताएको हो ।

यस्तै, सरकारले निजी क्षेत्रबाट पहल गरिएका खेलुकद पूर्वाधारलाई प्रोत्साहन गरिने उल्लेख गरेको छ । 

सरकारले यसअघि संसद बैठकमा आफ्ना सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै खेलाडीको सम्मान र पूर्वाधार निर्माणमा विशेष ध्यानमा राखेको बताएको थियो ।

सोही सिद्धान्त र प्राथमिकताका आधारमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।