
काठमाडौं, जेठ २ । सरकारले साना तथा मझौला र लघु उद्योगलाई प्राथमिकता दिँदै वैदेशिक रोजगारीबाट फर्कनेहरुको सीप विकासमा जोड दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो जोड दिइएको हो ।
आगामी १० वर्षमा कृषि उत्पादकत्व दोब्बर बनाउने, ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नो देश’ अभियान सञ्चालन गर्ने तथा सम्भाव्य जडीबुटीको पहिचान गरी जडीबुटी उत्पादनमा प्रोत्साहन गरिने भएको छ ।
सरकारले प्रमुख खाद्यबालीको न्यूनतम् मूल्य तोक्दै अर्ग्यानिक उत्पादनमा जोड दिनुका साथै भूमि बैंकको अवधारणा अघि बढाउने भएको छ ।
यस्तै, सरकारी जग्गामा फलफूल रोप्ने तथा कृषिलाई आयमूलक र मर्यादित पेसाको रुपमा अघि बढाउने नीति सरकारले लिएको छ ।
वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमा रोजगारी उपलब्ध गराउन सुरुआती पुँजी उपलब्ध गराइ शैक्षिक प्रमाणपत्रको आधारमा पुँजी उपलब्ध गराउने सरकारी नीति छ ।
सरकारले औद्योगिक उत्पादकत्व वृद्धि गर्नेगरी उद्योग क्षेत्रको काम अघि बढाउने तथा निर्यातमूलक उद्योगलाई सहुलियत दिँदै स्वदेशी कच्चापदार्थ उत्पादन गर्ने उद्योगलाई विशेष प्रोत्साहन गर्ने नीति लिएको छ ।
निर्यात गृह स्थापना गरी एउटै वस्तुको उत्पादन गर्ने समूहलाई सामूहिक ‘ट्रेडमार्क’को व्यवस्था गर्ने जनाएको छ ।
नेपाल–भारत पारवहन सन्धिलाई पुनरावलोकन गरी बंगलादेश र भुटानसँग व्यापार बढाउने, व्यापार पूर्वाधारको विकास गर्ने नीति पनि सरकारले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्