Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्नेसहित कृषिमा यस्ता छन् कार्यक्रम


0
Shares

काठमाडौं, जेठ २ । सरकारले बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने नीति लिँदै कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आगामी दश वर्षमा कृषिको उत्पादकत्व दोब्बर बनाउन आधुनिकीकरण र व्यवसायिक कृषि अभ्यासको योजना ल्याउने उल्लेख छ ।

कृषियोग्य भूमिको पूर्ण परिचालन गर्ने, रासायनिक मल र उन्नत जातको बीऊको वितरण स्थानीय तहमार्फत गर्ने नीति रहेको भन्दै सरकारले आधुनिक यन्त्रीकरणमार्फत कृषि उत्पादन बढाउने, स्वदेशी उत्पादन प्रयोगमा जोड दिने, कृषि प्रशोधन केन्द्र खोलेर कृषि उपज निर्यातमा प्रोत्साहन गरिने जनाएको छ ।

नीति तथा कार्यक्रममा स्थानीय तहमा बीऊ, नश्ल सुधार, बजारीकरणको इकाइ बनाइने, कृषि उपजको मूल्य श्रृंखलामा कृषि तथ्यांक एकीकृत गरिने, खाद्य स्वच्छता प्रवद्र्धन गर्ने, कृषि भूमिको सदुपयोग गरी भूमि बैंकको व्यवस्था गर्ने र चक्लाबन्दी खेतीमा जोड दिने उल्लेख छ ।

स्थानीय तहमार्फत करार खेतीमा प्रोत्साहन गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परिमार्जन गरेर लागू गर्न र राष्ट्रिय आवश्यकता र स्थानीय उत्पादनको आधारमा ठूलो क्षेत्रमा एकै खाले उत्पादनमा जोड दिने, अन्य परियोजनासँग दोहोरो नपर्ने गरी काम गर्ने नीति पनि सरकारले सार्वजनिक गरेको छ ।