१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


काठमाडौं उपत्यकामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको कोरोना परीक्षण गर्ने तयारी


0
Shares

काठमाडौं, जेष्ठ २ । काठमाडौं उपत्यकामा कोरोना (कोभिड–१९) को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ ।

बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकबिक्रेता, मजदूर तथा चालक गरी एक हजार ३४ को परीक्षण गरिएको थियो । ती मध्ये ७०० जनाको आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट)  र ३३४ जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन) परीक्षण गरिएको हो ।

आरडिटी गरिएकामध्ये चार जनाको नतिजा पोजेटिभ देखिएको र पिसिआरको नतिजा आउन बाँकी रहेको महानगर, जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए ।

सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीको शुक्रबार परीक्षण गरिरहेको कामपाले जनाएको छ । सफाइ कर्मचारी र फोहरमैला सङ्कलन गर्नेहरुको आरडिटी र पिसिआर दुवै विधिबाट परीक्षण गर्न लागिएको हो ।

कामपाका ९५०  कर्मचारी सफाइ क्षेत्रमा कार्यरत छन् । अहिले उनीहरुको टेकुमा आरडिटी  र पिसिआरका लागि स्वाब सङ्कलन भइरहेको छ । 

सङ्क्रमणको पहिचान गरी थप सुरक्षित बन्नका लागि क्रमशः जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सञ्चारकर्मीको परीक्षण गर्ने तयारी भएको कामपा प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । रासस