
काठमाडौं, जेठ २ । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा ८८ खर्ब अमेरिकी डलर बराबरको गिरावट आउनेसक्ने प्रक्षेपण गरिएको छ ।
एसियाली विकास बैंक (एडीबी)को पछिल्लो प्रतिवेदनले कोरोना कहर विश्वमा यसैगरी छ महिनासम्म निरन्तर कायम रहे विश्वको कुल गार्हस्थ्य उत्पादनमा ९.७ प्रतिशत अर्थात् ८८ खर्ब अमेरिकी डलर बराबरको गिरावट आउनसक्ने प्रक्षेपण गरेको हो ।
यस्तो स्थिति तीन महिनासम्ममा सम्हालिए ६.४ प्रतिशत अर्थात् ५८ खर्ब डलर गिरावट आउने एडीबीको प्रक्षेपण छ ।
एसिया तथा प्रशान्त क्षेत्रमा कोरोनाको प्रभाव तीन महिनासम्ममा सम्हालिए क्षति १७ खर्ब डलर बराबर हुने अन्यथा ६ महिनासम्म लम्बिए यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा २५ खर्ब डलर बराबरको कमी आउनसक्ने उसको प्रक्षेपण छ ।
विश्वका मुलुकहरुले कोरोनाविरुद्ध उचित कदम प्रभावकारीरुपमा चाल्नसके कोरोनाले अर्थतन्त्रमा पार्ने क्षति ३० देखि ४० प्रतिशतले न्यून गर्नसक्ने पनि एडीबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्