
एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस बर्षको द वेस्ट अवार्ड रद्द गर्ने निर्णय गरेको छ । फिफाले हरेक बर्ष विभिन्न विधामा उत्कृष्ट अवार्ड प्रदान गर्दै आएको छ ।
यस बर्षको अवार्ड कार्यक्रम सेप्टेम्बरमा ईटालीको मिलानमा तय गरिएको थियो । कोरोना महामारीले कार्यक्रम गर्न नसकिने भन्दै फिफाले अवार्ड रद्द गरेको हो ।
फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले यस महामारीको सुरुवातमै अधिकतम सावधानी अपनाएर बिषयको समाधान गरिने स्पष्ट पारेका थिए ।
फिफाले यसअघिनै, यू–२० र यू–१७ महिला विश्वकप सन् २०२१ फेब्रुअरीसम्म स्थगित गरेको छ । यस्तै फुटसल विश्वकप समेत सन् २०२१ सम्मका लागि स्थगित गरिएको छ ।
फिफाले क्लब विश्वकप मात्र अहिलेसम्म स्थगित गरेको छैन । प्रतियोगिता डिसेम्बरमा अबुधाबीमा हुने तय गरिएको छ । कोरोनाका कारण विश्वभरको फुटबल गतिविधि प्रभावित छ ।
युरोपका शीर्ष डिभिजनकै लिग रद्द हुने अवस्थामा छन् । केही लिगको अवरुद्ध खेल पुन सुरु गर्ने गृहकार्य भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्