३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


अर्थतन्त्रमा परेको असरको समष्टिगत अध्ययन गरेरमात्र राहतको प्याकेज ल्याउन सुझाव


0
Shares

काठमाडौं, जेठ १ । ‘लकडाउन’का कारण अर्थतन्त्रमा परेको असरको समस्टिगत अध्ययन गरी राहतको प्याकेज ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन् ।

संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत्को अर्थ समितिले बिहीबार कोरोनाभाइरसले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी बजेटको प्राथमिकताका सन्दर्भमा गरेको छलफलमा अर्थविद्हरुले उक्त सुझाव दिएका हुन् ।

अर्थतन्त्रको सुधारका लागि समस्टिगत अध्ययन नगरी राहतको व्यवस्था गर्दा उचित वितरण नहुने भएकाले सबैभन्दा पहिला ठोस अध्ययनका लागि पनि उनीहरुले सुझाएका छन् ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले मानिसको स्वास्थ्य र रोजगारी जोगाउनका लागि सरकारले उचित कदम चाल्न सके सबैभन्दा ठूलो राहत हुने बताए ।

अर्थविद् डा. गोविन्द नेपालले होटल र पर्यटन क्षेत्रमा धेरै असर पार्ने भएकाले यस क्षेत्रमा गुम्ने रोजगारीको व्यवस्थापन चुनौतीपूर्ण भएको बताए ।

यस्तै, अर्थविद डा. विश्वम्भर प्याकुरेलले वित्तीय र मौद्रिक नीतिलाई समन्वय गरेर लैजान सके मुद्रास्फीति नियन्त्रण गर्न सकिने बताए ।

अर्थविद् डा. डिल्लीराज खनालले ‘लकडाउन’का कारण श्रमबजारमा उत्पन्न भएको समस्यालाई समाधान नगरे सामाजिक द्वन्द्व उत्पन्न हुनसक्नेतर्फ ध्यानाकर्षण गराए ।

यस्तै, अर्थविद् डा. शंकर शर्माले स्वास्थ्य, राहत र रोजगारीमा केन्द्रित भएर सरकारका कार्यक्रमहरु आउनुपर्ने बताए ।