
काठमाडौं, जेष्ठ १ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोरोना (कोभिड–१९) परीक्षण गर्नेभएको छ ।
स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले जानकारी दिए ।
उनका अनुसार आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण शुरु गरिएको छ । यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको पनि कोभिड–१९ परीक्षण गर्ने भएको छ ।
उनले उनीहरु बन्दाबन्दी (लकडाउन) को समयमा पनि काममा खटिरहेकाले परीक्षण गर्ने बताए । उनीहरुको परीक्षणका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको छ ।
केही दिनअघि दुई पत्रकार र केही सुरक्षाकर्मीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । अहिलेसम्म पिसिआर २२ हजार ६६४ को र आरडीटी परीक्षण ६२ हजार ३२७ मा गरिएको छ ।
यसैगरी मन्त्रालयले क्वारेन्टाइनमा रहेका सबैको कोभिड–१९ परीक्षण गर्नेभएको छ । यही जेठ ५ गतेभित्र क्वारेन्टाइनमा रहेका सबैको आरडीटी र पिसिआर विधिबाट परीक्षण गर्ने विज्ञ सल्लाहाकार डा. कार्कीले जानकारी दिए ।
अहिलेसम्म मुलुकभरि १५ हजार ६०० जना क्वारेनटाइनमा रहेका छन् । देशभरिका विभिन्न स्थानमा ५३ हजार ८३५ क्वारेन्टाइन वेड रहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्