३० असार २०८२, सोमबार | Mon Jul 14 2025


कोरोनाका कारण विश्वभर करिब तीन लाख मानिसको मृत्यु


0
Shares

जेनेभा, जेठ १ । कोरोनाभाइरसका कारण विश्वभर दुई लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घन्टाको अवधिमा विश्वभर ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका छन् ।

अघिल्लो दिन पनि ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए ।

विगत २४ घन्टाको अवधिमा पाँच हजार ३१४ जनाको ज्यान गएको छ ।

विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २४ लाख २४ हजार अर्थात् करिब ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३३ हजार १८६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतार–चढाव यथावत् छ । पछिल्लो २४ घन्टामा अमेरिकामा एक हजार ७७२ जनाको मृत्यु भएको छ ।

जबकि, अघिल्लो दिन यहाँ एक हजार ६३० जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या ८५ हजार १९७ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घन्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ ।

विगत २४ घन्टामा इटालीमा १९५, स्पेनमा १८४ र फ्रान्समा ८३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको ‘इपिसेन्टर’का रुपमा देखिएको ब्राजिलमा १३ हजार १५८ जनाको मृत्यु भइसकेको छ । विगत २४ घन्टामा ब्राजिलमा ७५४ जनाको ज्यान गएको छ ।  

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति 

क्र.सं. महादेश कुल संक्रमित निको भएका कुल मृत्यु

  विश्वभर       ४४,३०,२४२  १६,६१,५३६  २,९८,१८३

१. युरोप         १६,९६,३९१  ७,०५,३२१   १,५७,३८२

२. उत्तर अमेरिका १५,७२,३१९  ३,८५,३२४  ९५,७७०

३. एसिया        ७,२१,७९२  ४,०७,६६६     २३,२६९

४. दक्षिण अमेरिका ३,५६,४५५  १,२७,९१८   १९,१२१

५. अफ्रिका      ७३,९७४        २६,२५०      २,५०७

६.ओसेनिया(अस्ट्रेलिया)८,५९०  ७,८०६      ११९

दक्षिण एसियाली मुलुकहरु

१. भारत        ७८,१९४         २६,४००       २,५५१

२. पाकिस्तान    ३५,७८८       ९,६९५          ७७०

३. बंगलादेश    १७,८२२         ३,३६१          २६९

४. अफगानिस्तान ५,२२६        ६४८           १३२

५. श्रीलंका      ९१५              ३८२             ९

६. माल्दिभ्स    ९५५              ४०              ४

७. नेपाल        २४५              ३५              –

८. भुटान        १५                 ५                –

रासस/एएफपी