१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी, खोज्न तीन घण्टा लाग्यो, जनकपुरमा उपचार हुर्दै


0
Shares

सर्लाही, बैशाख ३१ । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलमा एकजना मानसिक रोगीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ ।

योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ । धनकौलका ४५ वर्षीय एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

सङ्क्रमित व्यक्तिको २६ गते जनकपुरमा  पिसिआर टेष्ट गरिएको थियो । त्यहाँ निगेटिभ आएपछि उनलाई घरमै राखिएको थियो ।

मङ्गलबार राति १०ः१५ बजेको समयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गरेपछि सर्लाहीमा थप एक व्यक्ति कोरोना सङ्क्रमित भएको कुरा जानकारीमा आएको थियो ।

काठमाडौंबाट पिसिआर टेष्ट पोजेटिभ आएपछि मङ्गलबार राति नै उनलाई खोज्न सर्लाहीका सुरक्षा निकायका प्रमुख धनकौल पुगेका थिए ।

सङ्क्रमित व्यक्ति मानसिक रोगी भएकाले उनलाई राति घरबाट निकाल्न करिब तीन घण्टा लागेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । क्याचिङ रडले घरबाट तानेर गाडीमा हालेर बिहान २ बजे प्रादेशिक अस्पताल जनकपुर पठाइएको उनले बताए ।

उनका परिवारका सदस्यलाई राति नै हरिपुर्वास्थित रहेको क्वारेन्टाइनमा पुर्‍याइएको हरिपुर्वा–३ धनकौलका वडाध्यक्ष धनराज महतोले जानकारी दिए । सङ्क्रमित भेटिएको ठाउँलाई अहिले सिल गरिएको उनले बताए ।

यसअघि सर्लाहीको धनकौल गाउँपालिका–५, हरकठवा गोठका १४ वर्षीय बालकमा कोरोना पोजेटिभ देखिएको थियो । अहिले उनको उपचार वीरगञ्जमा भइरहेको छ । रासस