Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


१२ रुपैयाँ छुट दिँदा १० हजार जरिवाना


0
Shares

चितवन, बैशाख ३० । पूर्वी चितवनको रत्ननगरमा रहेको एक पुस्तक पसलले ग्राहकलाई रु. १२ छुट दिँदा रु. १० हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

जरिवानामा परेपछि सो पुस्तक पसललाई होलसेल बिक्रेताले किताबसमेत बिक्रीका लागि दिन छाडेका छन् ।

रत्ननगर नगरपालिका–२ मा रहेको नेपाल माध्यामिक बिद्यालय अगाडिको न्यू गोर्खाली पुस्तक पसलले कलम बिक्री गर्दा रु. १२ छुट दिएकै कारण रु. १० हजार जरिवानामा परेको हो ।

पसलका सञ्चालक नारायण रेग्मीले एक विद्यार्थीलाई प्रयोगात्मक पुस्तक र कलमको रु. ५१२ भएकामा रु. ५०० मात्र लिएकाले आफू कारवाहीमा परेको बताए ।

उनले भने, “लकडाउनको समयमा जरिवाना रकमको चेक दिँदासमेत नमानेर मलाई पुस्तक बेच्न दिइएन ।” एउटा बच्चाले आफूसँग रकम नभएको भनी आग्रह गरेपछि कलममा रु. १२ छुट गरेको स्वीकार गर्दै उहाँले आफूमाथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ चितवन शाखाले अन्याय गरेको बताए ।

जिल्ला प्रशासन कार्यालयमा गत हप्ता उजुरी गरेको भए पनि सुनुवाइ नभएको उनको भनाइ छ । यही अभियोगमा गत वर्ष पनि संस्थाले आफूलाई रु. ११ हजार २०० जरिवाना लगाएर असुल गरेको उनले बताए ।

व्यवसायीले छुट गर्दा सिन्डिकेट लगाउन नमिल्ने हुँदा सम्बन्धित पक्षलाई कारवाही गर्नुपर्ने रेग्मीले माग गरे ।

यता महासङ्घ चितवन शाखाका अध्यक्ष राजेन्द्र तिवारीले अस्वस्थ प्रतिस्पर्धा नगर्न भनिएको भए पनि कारवाही र पुस्तक नदिन पत्राचार नगरिएको दाबी गरे ।

उनले महासङ्घले बिक्री गर्ने नभएर व्यवसायीले पुस्तक बिक्री गर्ने भएकाले उनीसंग नै समन्वय गरेर पुस्तक ल्याउनुपर्ने बताए । जिल्लामा ३७५ पुस्तक पसल महासङ्घमा दर्ता छन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले रेग्मीको उजुरीका सम्बन्धमा कारवाही प्रक्रिया अघि बढाइएको जानकारी दिए । रासस