३० असार २०८२, सोमबार | Mon Jul 14 2025


स्पेनका शीर्ष लिगका खेलहरु जुन १२ देखि सुरु गर्ने, खेलाडीहरु बन्द प्रशिक्षणमा


0
Shares

एजेन्सी । स्पेनका शीर्ष लिगका बाँकी खेलहरु आउँदो जुन १२ देखि सुरु हुन सक्ने बताइएको छ ।

ला लिगाका अध्यक्ष खाबियर तेबासले कोरोना संक्रमणका कारण रोकिएका लिगका बाँकी खेलहरु जुन १२ देखि सुरु गर्ने तयारी भइरहेको बताएका हुन् ।

खेलाडीहरुको स्वास्थ्य परीक्षण गरिने र उनीहरु स्वस्थ रहने भन्दै खेल सुरु हुने अपेक्षा रहेको उनले बताएका हुन् ।

स्पेनका शीर्ष दुई लिगका पाँच खेलाडीका कोरोना भाइरसको संक्रमण देखिएको ला लिगाले आइतबार बताएको थियो ।

ला लिगाले गएको हप्ता खेलाडी तथा खेल पदाधिकारीको परीक्षण सुरु गरेको थियो । बन्द रंगशालामै भए पनि लिगका बाँकी खेल सम्पन्न गर्ने उद्देश्यसहित ला लिगाले परीक्षण थालेको हो ।

मोविस्टारसँग तेबासले जुन १२ मा लिग पुनः सुरु गर्ने मिति आफूलाई उपयुक्त लागेको भए पनि त्यसलाई विभिन्न पक्षले प्रभावित पार्न सक्ने बताए ।

संक्रमण बढेमा त्यो मिति उचित हुन नसक्ने उनले उल्लेख गरेका छन् ।

खेलअघि हरेक खेलाडीको परीक्षण गरिने भएकाले खेलको क्रममा संक्रमण फैलिने जोखिम शून्य हुने पनि उनले उल्लेख गरेका छन् ।

बार्सिलोनासहितका क्लबका खेलाडीले व्यक्तिगत प्रशिक्षण सुरु गरिसकेका छन् ।

संक्रमण पुष्टि भएका पाँच खेलाडीको नाम सार्वजनिक गरिएको छैन र उनीहरुलाई आइसोलेशनमा राखिएको जनाइएको छ ।