प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज)
काठमाडौं, साउन ३१ । वि.सं. २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पपछि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा हालसम्म पाँचपटक प्रमुख कार्यकारी अधिकृत फेरिएका छन् ।
तत्कालीन पुष्पकमल दाहाल सरकारले बर्खास्त गरेका सुशील ज्ञवालीलाई वर्तमान सरकारले पुनः प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
हरेकपटक सरकार परिवर्तनसँगै राजनीतिको चपेटामा पर्ने गरेको पुनःनिर्माण प्राधिकरणमा अहिलेसम्म पाँचपटक कार्यकारी अधिकृत फेरिइसकेका छन् ।
पाँचौं कार्यकारी अधिकृतकारुपमा सुशील ज्ञवाली पुनः नियुक्त भएका छन् । उनले बिहीबार कार्यकारी अधिकृतको पदभारग्रहण गरे ।
यसअघि, उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२ साल पुस १० गते कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ज्ञवालीले एक वर्ष पुनःनिर्माण प्राधिकरणको नेतृत्व सम्हालेका थिए ।
उनै ज्ञवालीलाई करिब डेढ वर्षपछि फेरि पुनःनिर्माण प्राधिकरणको नेतृत्व सरकारले सुम्पेको छ ।
पदभारग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सरकारले आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले भूकम्पले भत्काएका संरचनाहरु पाँच वर्षभित्र निर्माण गर्ने योजना बनाएको थियो । तर, सरकारी योजनाले अपेक्षित गति लिन सकेको छैन ।
काम सुरु गरेको तीन वर्ष बित्दासमेत ३० प्रतिशतमात्र निजी घरहरु पुनःनिर्माण भएका छन् ।
कार्यकारी अधिकृत ज्ञवालीले अहिलेसम्म भएका कामको समीक्षा गरेर काम अघि बढ्ने बताए ।
स्थानीय सरकारलाई बलियो बनाइ जनसहभागितामा पुनःनिर्माणमा जोड दिइने उनको भनाइ थियो ।
पुनःनिर्माणको काम प्रभावकारी नहुँदा अहिले पनि हजारौं व्यक्ति अस्थायी टहरामा बस्न बाध्य छन् । पुनःनिर्माणका लागि छुट्याइएको ८ अर्ब रुपैयाँ अझै वितरण गर्न बाँकी छ ।
सरकार परिवर्तनसँगै कार्यकारी अधिकृत फेरिँदा अन्तर्राष्ट्रिय जगतमा पनि राम्रो सन्देश जान सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्