२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


आइसोलेशन वार्डमा रहेकी सुत्केरीको रिपोर्ट नेगेटिभ


0
Shares

दाङ, बैशाख २९ । तुलसी बाल अस्पतालको आइसोलेशन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

यादवको पिसिआर विधिबाट  परीक्षण गर्दा  नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड —१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

उनको स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रयोगशालामा पठाइएकामा आइतबार साँझ रिपोर्ट आएको हो ।

यादवले शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कम तौल भएका जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन् ।

ती शिशुलाई नवजात अतिसघन कक्षमा राखेर उपचार गर्नुपर्ने भएपछि प्रादेशिक अस्पतालले तुलसी बाल अस्पतालमा सिफारिस गरेको थियो ।

अहिले जुम्ल्याहा दिदीबहिनीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

यादव तुलसीपुरको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । केही दिनअघि भारत, बलरामपुरस्थित आफ्नो माइतीघरबाट पैदल हिँडेर तुलसीपुर उपमहानगरपालिका—१३ मा रहेको घरमा उनी आएको थाहा पाएपछि स्थानीयवासीले उपमहानगरपालिकालाई खबर गरेका थिए ।

त्यसलगत्तै उनलाई तुलसीपुरको रक्षाचौर क्वारेन्टाइनमा लगिएको थियो । यादवको यसअघि गरिएको र्‍यापिड डायग्नोष्टिक टेष्टको रिपोर्ट पनि नेगेटिभ आएको थियो । रासस