Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


कलेक्टिभ रूपमा नेपालमा लगानी गर्न एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह


39
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रूपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरूलाई आह्वान गर्नुभएको छ ।

गैर आवासीय नेपाली संघले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै ढकालले कोभिड–१९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा संचितीमा संकुचन देखिएकाले नेपालभित्र विदेशी मुद्रा भित्र्याउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताउनुभयो ।

‘मुलुक अहिले वैदेशिक मुद्रा संचितीको चापबाट गुज्रिएको छ, वैदेशिक मुद्रा भित्र्याउँदै लगानी विस्तारका लागि तपाईंहरूलाई यो उपयुक्त अवसर होे,’ उहाँले भन्नुभयो, ‘प्रत्येक मुलुकको वा शहरको समूहहरू बनाई कलेक्टिभ रूपमा ठूला–ठूला आयोजनाहरूमा लगानी विस्तार गर्नुहोस् ।’

ढकालले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पहल गर्ने समेत बताउनुभयो ।

उहाँले नेपालको अर्थतन्त्रका केही सूचकहरू नकारात्मक रहे पनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने बताउनुभयो ।

आईपीओमा गैर आवासीय नेपालीहरूलाई १० प्रतिशत कोटा छुट्ट्याउँदा यसले अहिलेको तरलता समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुगेको बताउँदै उहाँले नेपालमा गैर आवासीय नेपालीहरूको लगानी भित्र्याउन पनि यसबाट सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।

ढकालले नेपालमा सम्भावना नै सम्भावना रहेको र यसलाई अवसरका रूपमा लिन गैर आवसीय नेपालीहरूलाई आग्रहसमेत गर्नुभयो ।