-प्रकाश मैनाली
सर्लाही । हरिपुर नगरपालिकाले नगरवासीको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ ।
हालसम्म वडा नम्वर १, ७ र ९ का नागरिकको स्वास्थ्य परीक्षण गरिसकिएको नगरप्रमुख जमरुद्धिन मन्सुरले जानकारी दिए ।
कोरोना भाईरस (कोभिड–१९) को बढ्दो महामारीले जनजीवन त्रसित भइरहेको अवस्थामा नगरवासीको घरमै पुगेर ज्वरो नाप्नेदेखि अन्य स्वास्थ्य परीक्षणको काम भइरहेको हो ।
नागरिकको स्वास्थ्य परीक्षण गर्न प्रत्येक वडामा स्वास्थ्यकर्मी एवं महिला स्वयंसेविका परिचालन गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
स्वास्थ्यकर्मीले प्रत्येक घरधूरीमा परिवार सदस्य संख्या र उनीहरु कहाँ छन् भन्ने बारेमा समेत जानकारी लिइरहेका छन् ।
यसो गर्दा कोही मानिस भर्खरै अन्य ठाउँबाट आएको भएपनि सूचना प्राप्त हुने नगरप्रमुख मन्सुरले बताए ।
नगरपालिकाले घरमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएपछि नगरवासीले खुशी व्यक्त गरेका छन् ।
हरिपुर नगरपालिका–१, जानकीनगरकी सन्तोषि खड्काले कसैलाई ज्वरो आउँदा वा रुघाखोकी लाग्दा कोरोना नै लाग्यो की भन्ने त्रास भइरहेको अवस्थामा स्वास्थ्यकर्मी घरमै आएर स्वास्थ्य परीक्षण गरी सल्लाह सुझाव दिँदा खुशी लागेको बताइन् ।
यसअघि सर्लाहीको बागमती नगरपालिकाले पनि घर–घरमै स्वास्थ्यकर्मी परिचालन गरी नगरवासीको स्वास्थ्य परीक्षण गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्