
काठमाडौं, वैशाख २६ । नेपाल समुद्रपार निकासी पैठारी संघले उद्योग र कारोबार सञ्चालन गर्न दिएपनि समस्या कायमै रहेको जनाएको छ ।
संघले शुक्रबार विज्ञप्ति जारी गरी सरकारले अत्यावश्यकीय उद्योग सञ्चालनका हकमा खुकुलो नीति लिनु स्वागतयोग्य कदम भन्दै समस्या भने कायमै रहेको जनाएको हो ।
सरकारले ‘लकडाउन’कैबीचमा पनि उपभोग्य वस्तु, विकास आयोजना, पशुपक्षीपालन, कृषि, आपूर्ति र बैंक एवं वित्तीय संस्थालगायत वस्तु र सेवासम्बद्ध उद्योगको हकमा खुकुलो नीति लिएको छ ।
यसले सर्वसाधारण सेवाग्राहीलाई आवश्यक वस्तु प्राप्त गर्न सजिलो हुनुका साथै आपूर्ति व्यवस्था सामान्य बनाइराख्न र उद्योग–व्यवसायलाई सञ्चालन खर्च जुटाउन मद्दत पुग्ने संघको ठहर छ ।
तर, उद्योगहरुबाट उत्पादित वस्तु ढुवानी तथा त्यसको खुद्रा कारोबार सहज नहुन्जेल उत्पादनको कुनै अर्थ नरहने पनि उसले स्पस्ट पारेको छ । यसका लागि उपभोक्ताको सहज पहुँचका लागि पनि संघले माग गरेको हो ।
कुनैपनि उद्योगबाट उत्पादित वस्तु ‘स्टकिस्ट’, डिलर, खुद्रा बिक्रेता हुँदै उपभोक्तासम्म पुग्ने हो ।
तर, यतिखेर उद्योगीहरुसामु उत्पादित वस्तु ढुवानी गरेर उपभोक्तासम्म कसरी पुर्याउने, खुद्रा बिक्रेताले कहिले बिक्री गर्न पाउनेलगायत समस्या छन् ।
तसर्थ, केही निश्चित उद्योग तथा व्यवसाय सञ्चालन गर्न अनुमति दिएजस्तै खाद्यवस्तुबाहेकका उत्पादन ढुवानी गर्ने साधन सहजै चल्न पाउनुपर्ने संघको माग छ ।
प्रतिक्रिया दिनुहोस्