१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


दाङमा आइसोलेशनमा रहेका सबैको रिपोर्ट नेगेटिभ


0
Shares

घोराही, बैशाख २६ । दाङका आइसोलेशनमा रहेका सबै जनाको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कोरोना विशेष अस्पताल बेलझुण्डी र  लमही अस्पतालमा राखिएका ३८ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

घोराहीस्थित प्रतिष्ठानमा रहेको कोरोना जाँच प्रयोगशालामा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड –१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

उनका अनुसार आइसोलेशनमा रहेका सबैको स्वास्थ्यावस्था सामान्य छ ।

हालसम्म दाङका आइसोलेशनमा पिसिआर जाँच गराएका १८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न चरणमा उनीहरु जिल्लामा रहेका आइसोलेशनमा उपचारका लागि आएका थिए ।

पालिकाले बनाएका क्वारेन्टाइनमा शुक्रबारसम्म ७९ जना रहेको पनि फोकल पर्सन चन्दले जानकारी दिए । उनले तुलसीपुर उपमहानगरपालिकामा २४, बबई गाउँपालिकामा नौ, लमही नगरपालिकामा ३५, गढवा गाउँपालिकामा ६ र घोराही उपमहानगरपालिकामा पाँच क्वारेन्टाइनमा रहेको बताए ।

यसअघि क्वारेन्टाइनमा बसेका १९७ जनाको आरडिटी  गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएका हुँदा उनीहरुलाई डिस्चार्ज गरिएको जानकारी दिए । रासस