
नारायणी लामिछाने (इमेज)
काठमाडौं, वैशाख २६ । सरकारले ‘लकडाउन’ केही खुकुलो गरी अत्यावश्यकीय उद्योगहरु खोल्न अनुमति दिएको छ ।
तर, उद्योगी–व्यवसायीहरुले भने विभिन्न व्यावहारिक कठिनाइका कारण उद्योगहरु तत्काल सञ्चालमा ल्याउन नसकिने बताएका छन् ।
सरकारले पछिल्लोपटक लकडाउन अवधि बढाएर जेठ ५ गतेसम्म पुर्याएको छ । तर, यसपटक भने लकडाउन केही खुकुलो गरी अत्यावश्यकीय उद्योगहरु खोल्न अनुमति दिएको छ ।
विभिन्न ४२ प्रकारका उद्योगहरु खोल्न पाउने व्यवस्था सरकारले गरेको हो ।
यस्ता उद्योगमा सुरक्षात्मक उपाय अपनाउँदै एक तिहाइ कर्मचारी राखेर सञ्चालन गर्न सकिने भएको हो ।
तर, उद्योगी–व्यवसायीहरुले भने सरकारले भनेजसरी तत्काल उद्योगहरु सञ्चालन गर्न नसकिने बताएका छन् ।
मालवस्तु ढुवानी तथा कर्मचारीको आवास व्यवस्थाजस्ता व्यावहारिक कठिनाइका कारण तत्काल सञ्चालनमा ल्याउन मुस्किल हुने उनीहरुको भनाइ छ ।
सरकारले खाद्य उद्योग, साना तथा घरेलु उद्योग, दुग्धजन्य उद्योग, राष्ट्रिय गौरवका आयोजना, निजी क्षेत्रबाट निर्माण भइरहेका जलविद्युत् आयोजनालगायत सञ्चालन गर्न सकिने व्यवस्था गरेको हो ।
तर, कामदारलाई आवास, खानपिनको व्यवस्था, कच्चापदार्थ ढुवानीदेखि मालवस्तु ओसार–पसारमा सरकारको कुनै ठोस कार्यक्रम नआएका कारण उद्योग खोल्न सजिलो नरहेको उद्योगीले बताएका छन् ।
केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गरेर सहजीकरण नगरी उद्योग सञ्चालन गर्न नसकिने बताउँछन्, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका ।
एकतिहाइ कर्मचारीलाई काममा लगाउन पनि यातायातलगायतकोे समस्या हुने उद्योगीले बताएका छन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोर पनि उद्योग सञ्चालन गर्न अझै समय लाग्ने बताउँछन् ।
नेपाल हस्तकला उद्योग महासंघका उपाध्यक्ष डा. सुनिल चित्रकार पनि तत्काल उद्योग सञ्चालनका लागि व्यावहारिक समस्या रहेको बताउँछन् ।
सरकारले उद्योग सञ्चालन गर्न अनुमति दिएपनि स्थानीय सरकारसँग समन्वय गरी उद्योग सञ्चालनका लागि आवश्यक वातावरण पनि बनाएर सहजीकरण गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्