Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सुदूरपश्चिम सरकार बजेट निर्माणको तयारीमा जुट्यो


0
Shares

विराज रोस्यारा (इमेज)

कैलाली, वैशाख २६ । सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७७/२०७८ को नयाँ बजेट निर्माणको तयारीमा जुटेको छ ।

संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई वित्तीय समानीकरण र राजस्व बाँडफाँटको बजेट ‘सिलिङ’ पठाएपछि आर्थिक मामिला तथा योजना मन्त्रालय बजेट निर्माणमा जुटेको हो ।

मन्त्रालयकाअनुसार संघीय सरकारबाट आउँदो आर्थिक वर्षमा प्रदेश सरकारले आठ अर्ब ४२ करोड ४३ लाखको वित्तीय समानीकरण र सात अर्ब ८७ करोड ३६ लाख रुपैयाँको राजस्व बाँडफाँटको बजेट पाउने भएको छ ।

मन्त्रालयले अहिले बजेटको स्रोतहरुको हिसाब गरिरहेको र केही दिनमै बजेटको अनुमानित आकार निर्धारण हुने आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी दिए ।

बजेटको मापदन्ड जारी गर्ने तयारीमा रहेको बताउँदै उनले चालू आर्थिक वर्षको तुलनामा बजेटको आकार बढ्ने र आउँदो बजेट कोरोनाभाइरसविरुद्ध केन्द्रित हुने बताएका छन् ।

यस वर्ष स्वास्थ्य, कृषि, साना तथा लघुउद्यम र विकास निर्माणलाई प्राथमिकतामा राखिने मन्त्री बोहराको भनाइ छ ।

चालू आर्थिक वर्षको कुल विनियोजित बजेट २८ अर्ब १६ करोड २० लाख रुपैयाँमध्ये जम्मा २१ प्रतिशतमात्रै बजेट खर्च भएको छ ।

हालसम्म चालू र पुँजीगत बजेट गरी पाँच अर्ब ८४ करोड बराबर रुपैयाँमात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीका प्रमुख वासुदेव जोशीले बताए ।

गत आर्थिक वर्षमा २५ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको प्रदेश सरकारले ६० प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको थियो ।