
काठमाडौं, बैशाख २६ । नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले निर्णय गरे बमोजिम औपचारिक क्षेत्रका श्रमिकहरुलाई चैत्र मसान्तसम्मको पूर्ण तलब र अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई तत्काल प्रभाकारी राहत दिन माग गरेका छन् ।
युनियनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
महासचिव योगेन्द्र कुवर हस्ताक्षरित विज्ञप्तिमार्फत भनिएको छ, सरकारको निर्णय अनुसार लकडाउन अवधीमा सम्पुर्ण श्रमिकहरुको सार्वजनिक बिदा कायम गरि खाईपाई आएको तलब र सुविधा उपलब्ध गराउन र संचालनमा रहेका अत्यावश्यक सेवा तथा उत्पादनमा जोखिमकासाथ कार्यरत श्रमिकहरुलाई डब्लुएचओको मापदण्ड अनुसारको सुरक्षा व्यवस्था गरि सबैको बिमाको व्यवस्था गर्न माग गरेका छन् ।
होटेल लगायत अन्य उद्योगहरुले समेत सरकारको निर्णय अवज्ञा गरि श्रमिकलाई तलब सुविधाबाट बन्चित गराउनुकासाथै ट्रेड युनियनहरुसंग परामर्श नै नगरी श्रमिक कटौती गर्न खोजेकोले तत्काल यस्ता कार्यबाट सम्बन्धित पक्ष पछि हट्नु पर्ने र सरकारलाई आफुले गरेको निर्णयको कार्यान्वयन गराउन आग्रह गरेका छन् ।
यसैगरी लकडाउनको समयावधि मात्र नथपी परिक्षणको दायरालाई बढाउनु पर्ने , अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई तत्काल प्रभाकारी राहत दिनु पर्ने , वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिन र समस्यामा परेकालाई तत्काल उद्घार गर्न समेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्