१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सापटी मागेर राउटेलाई भत्ता


0
Shares

सुर्खेत, बैशाख २६ । कोभिड–१९को जोखिम हुन नदिन जारी बन्दाबन्दीले समस्या भोगिरहेका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

गाउँपालिकाले स्थानीय व्यवसायीबाट सापटी मागेर भत्ता वितरण गरेको हो ।

जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरु हाल यहाँको भेरीगङ्गा नगरपालिकाको छिन्चु नजिक बसाइँ सरेका छन् ।

गुराँस गाउँपालिकाले बस्तीमै पुगेर १५२ जना राउटेलाई चैत महिनाको भत्ता वितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष खेमराज वलीले लकडाउनका कारण दैनिकी चलाउन समस्या भएको खबर पाएपछि रु. चार लाख ५६ हजार सापटी मागेर भत्ता वितरण गरेको बताए ।

सरकारले लोपोन्मुख जाति राउटेको सामाजिक सुरक्षाका लागि प्रतिव्यक्ति मासिक रु तीन हजार भत्ता दिँदै आएको छ ।

काठका भाँडाकुँडा बिक्री गरेर गुजारा चलाउने यो समुदाय लकडाउनका कारण थप समस्यामा परेको थियो ।

लकडाउनकै अवधिमा भत्ता पाएपछि राउटेहरु खुशी भएका छन् । मुखिया सूर्यनारायण शाहीले गाउँ जान नपाएका कारण आफूहरुले बनाएको सामान बिक्री नभएको बताए ।

“सामान त्यत्तिकै थन्किएका छन्, परिवार ठूलो छ, रासन धेरै चाहिन्छ, गाउँपालिकाले भत्ता दिएपछि राहत मिल्यो, खुशी छौँ” उनले भने ।

भेरीगङ्गा नगरपालिकाले कोरोना सङ्क्रमण रोकथामका लागि राउटेहरुलाई आउजाउमा कडाइ गरेपछि खाद्यान्नको समस्या भएको थियो । रासस