Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


जिल्ला प्रवेशमा स्थानीय तहको विरोध


0
Shares

-जितेन्द्र भण्डारी /इमेज 

पाँचथर । पूर्व जानकारी तथा समन्वय नै नगरी अन्य जिल्लाबाट ठूलो संख्यामा नागरिकहरु पाँचथर भित्रिँदा स्थानीय तहहरुले विरोध गरेका छन् ।

ठूलो संख्यामा घर फर्कनेहरुमा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै उनीहरुको व्यवस्थापनमा स्थानीय तहहरु नै लागिपरेका छन् ।

सरकारले जिल्ला फर्कने अनुमति दिएपछि विभिन्न जिल्लाबाट विना जानकारी पाँचथरमा ठूलो संख्यामा नागरिकहरु भित्रिएका छन् ।

एक्कासी घर फर्कनेको संख्या बढेपछि क्वारेनटाइनको व्यवस्थापन गर्न समस्या भए पनि स्थानीय तहहरुले जिल्लाका विभिन्न निकायहरुसँग समन्वय गरेर व्यवस्थापन गरीरहेका छन् ।

रातरात क्वारेन्टाइन बनाउनुपर्ने, खाने बस्ने सबै प्रवन्ध मिलाउन समस्या, चुनौती र बाध्यताका बीच उनीहरुलाई राम्रो प्रबन्ध गरेको फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल खत्री बताउँछन् ।

निरन्तरको झरी, चिसो मौसमका बीच पनि स्थानीय तहले क्वारेन्टाइनमै राखेर खाने, बस्ने प्रबन्ध गरेका छन् ।

फाल्गुनन्द गाउँपालिकाले क्वारेनटाइमा एक हप्ता बसेकाहरुको आरटिडी परीक्षण गरेर सबैको नतिजा नेगेटिभ आएपछि नागरिकलाई घर घर पठाइएको छ ।

सुरुवातमा सबै व्यवस्थापन मिलाउन समस्या भएपनि पछि क्रमशः व्यवस्थापन सुधारेको स्थानीयहरु बताउँछन् ।

चिसोको कारण क्वारेन्टाइनमा बस्न समस्या भएपनि सकेसम्म नागरिकलाई राम्रै व्यवस्थापन गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरका उपसभापति छेदीलाल ठाकुरले बताए ।

सरकारले बनाएको मापदण्ड बमोजिमकै क्वारेन्टाइन बनाइएको र पछि धेरै संख्यामा नागरिकहरु आएपछि उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ ।