३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


विदेशमा समस्यामा पर्ने नेपालीको संख्या बढ्दो, तत्काल ‘कसैलाई पनि स्वदेश नल्याइने’


0
Shares

खिलनाथ ताजपुरिया (इमेज)

काठमाडौं, वैशाख २५ । विश्व नै कोरोनासँग जुधिरहेको बेला विभिन्न मुलुकमा रहेका थुप्रै नेपालीहरु पनि अप्ठेरोमा परेका छन् ।

कतिपय देशमा बस्नेहरुको भिसा सकिएको छ भने केही मुलुकहरुले अवैध कामदारलाई आममाफी दिएर स्वदेश पठाउन खोजिरहेका छन् ।

नेपाल सरकार भने तत्काल कसैलाई पनि फिर्ता नल्याउने अडानमा छ ।

रोजगारीका लागि भारत पुगेका नेपालीहरुले ‘लकडाउन’का कारण रोजगारी नै गुमाएका छन् ।

रोजगारी गुम्दा खाने–बस्नेसमेत समस्यामा परेका उनीहरु स्वदेश फर्कन नेपाल सरकारसँग हारगुहार गरिहेका छन् ।

रोजगारी गुमाएका, भिसा सकिएकाजस्ता गम्भीर समस्यामा परेकाहरुलाई तत्काल स्वदेश फर्काउन चौतर्फी आवाज पनि उठिरहेको छ ।

मलेसिया, साउदी अरब, कुवेतलगायत केही मुलुकहरुले अवैधरुपमा बस्दै आएकाहरुलाई आममाफी दिएका छन् ।

ती मुलुकहरुमा आममाफी पाउने नेपालीको संख्या ३५ हजारजति हुने सरकारको अनुमान रहेको छ ।

सरकारले अप्ठेरोमा परेकाहरुको पहिचान गर्ने र प्राथमिकताको आधारमा स्वदेश फर्काउने बताएपनि तत्काल कसैलाई पनि स्वदेश नल्याउने भएको छ ।

देशभित्र दिनानुदिन संक्रमणको संख्या बढ्दै जानु, पर्याप्त ‘क्वारेन्टाइन’को व्यवस्था नहुनु र जेठ १८ सम्म अन्तर्राष्ट्रिय उडान नै बन्द गरिएकाले तत्काल कसैलाई ल्याउन नसकिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताउँछन् ।

विदेशमा बस्ने नेपालीहरुको समस्या दिन–प्रतिदिन बढ्दै जानेमा शंका छैन । ढिलो–चाँडो उनीहरुलाई स्वदेश नल्याएरपनि सरकारले सुख पाउने छैन । त्यसैले परिस्थिति भयावह नबन्दै तयारी गर्नु जरुरी छ ।

भिडियो हेर्नुहोस्