
काठमाडौं । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अब सबै व्यापारिक सामान आउने भएको छ ।
बुधबार व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि र भन्सारबीच भएको छलफलमा नाकाबाट सबै व्यापारिक सामान समेत ल्याउने सहमति भएको हो ।
यसअघि सरकारले सो नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यवस्तु भित्र्याउने निर्णय गरेको थियो ।
नाकाबाट अत्यावश्यक मेडिकल सामग्री भन्दा अन्य सामान ल्याएको र त्यसबाट कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै स्थानीय जनप्रतिनिधिलगायत स्थानीयले विरोध गर्दै आएका थिए ।
उनीहरुले चामल, दाल, नून र मेडिकल सामग्री ल्याउन दिने तर स्याउ, लसुन जस्ता सामान ल्याउन नदिने भन्दै विरोध गरेका थिए ।
चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना संक्रमणको उच्च जोखिम रहेको उनीहरुको तर्क छ ।
भन्सार र स्थानीय जनप्रतिनिधिबीच तीव्र विवाद भएपछि भन्सारले सबैसँग बुधबार छलफल गरेको हो ।
भन्सार प्रमुख लाल बहादुर खत्रीले सामान आयात गर्न दिने तर त्यसको लागि सुरक्षा पहिलो सर्त छ भनेर सबैले भन्नुभयो त्यसका लागि सबै सुरक्षा रणनिति अपनाउन भन्सार तयार छ भनेपछि सामान ल्याउन दिनेमा सबै एकमत भएको जानकारी दिए ।
भन्सार कार्यालय र भोटेकोशी गाउँपालिकाले सुरक्षाका लागि आवश्यक समन्वय गर्नेछन् ।
भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले सरकारले निर्णय गरे अनुसार सबै सामान आउने बताए ।
‘स्थानीय जनप्रतिनिधि र संघसंस्थासँग समन्वय गरेर अगाडि बढ्ने सहमति भएको छ उनले भने, सबैसँग महिनामा एक पटक छलफल गर्ने र त्यसको लागि भन्सारले समन्वय गर्नेछ ।’
उद्योग वाणिज्य संघका अध्यक्ष वेद बहादुर श्रेष्ठ भने भन्सार र स्थानीय तहहरुले समन्वय गरेर अघि बढ्नुपर्ने तर्क राख्छन् ।
‘सबै व्यवसायीहरु नाका खोल्न सहमत छौ उनले भने, त्यसका लागि सबैसँग समन्वय हुन जरुरी छ ।’ साथै सुरक्षा विधि अपनाएर नाकाबाट सहज रुपमा आयात निर्यात गर्नुपर्ने उनको भनाइ छ ।
अत्यावश्यक सामानको आयात गर्ने भन्दै तातोपानी नाका खोल्ने सरकारको निर्णय पछि चैत २६ देखि तातोपानी नाका सञ्चालनमा छ ।
भूकम्प पछि तातोपानी नाका तीनवर्ष देखि बन्द रहेको थियो । जसका कारण धेरैको रोजीरोटी गुमेको छ ।
प्रतिक्रिया दिनुहोस्