
काठमाडौं, वैशाख २४ । राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)बीच ब्याजदरमा एकरुपता गर्ने सहमति भएको छ ।
बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता गर्नेलगाएतका विषयमा सहकार्य गर्ने सम्बन्धमा हालै सहमतिपत्रमा हस्ताक्षरसमेत गरेका थिए ।
दुवै संस्थाबीच वित्तीय सहकारीको स्थायित्व र दिगो सञ्चालनका लागि सहकार्य गर्ने विषयमा सहमति भएको जनाइएको छ ।
दुवै संस्थाले कोरोना संक्रमणका कारण सहकारीमा पर्नजाने वित्तीय संकट टार्न, नेपालको सहकारी अभियानलाई व्यवस्थित र व्यावसायिक बनाउन सहकार्य गर्ने जनाएको छ ।
नेपाल सहकारी पत्रकार समाजले सरोकारवालाहरुसँग गरेको छलफलमा बैंकका अध्यक्ष केबी उप्रेतीले बैंक र नेफ्स्कूनका सबै देशभरिका शाखाबाट लिने दिने ब्याजमा एकरुपता हुने बताए ।
तरलता व्यवस्थापनका लागि दुवै संस्थाले विपद् व्यवस्थापन केन्द्रीय तरलता कोष पनि स्थापना गरेका छन् । उक्त कोषमा बैंकले एक अर्ब र नेफ्स्कूनले १० करोड रुपैयाँ जम्मा गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्