Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


राष्ट्रको नाममा योगदान दिएका व्यक्तिको सम्मानमा बजेट विनियोजन गर्दा विरोध भयो : मुख्यमन्त्री पोखरेल


8.3k
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वर्ष २०७९/८० को बजेटमा बाबुको नामको प्रतिष्ठानमा बजेट छुट्याउने निर्णयको बचाउ गर्नुभएको छ ।

यद्यपि नागरिक दबावका कारण उक्त रकम प्राथमिकताको अन्य क्षेत्रमा खर्च गर्न निर्देशन दिइसकेको उहाँले बताउनुभयो । मंगलबार गण्डकी प्रदेशसभाको बैठकमा उहाँले राष्ट्र र व्यवस्था परिवर्तनका लागि योगदान दिएका व्यक्तिको सम्मानमा प्रदेशले बजेट विनियोजन गर्दा विरोध गरेकोमा असन्तुष्टि जनाउनुभयो ।

मुख्यमन्त्री पोखरेलका बाबु गोवद्र्धन शर्माको नाममा पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । बैठकमा मुख्यमन्त्री पोखरेलले गोवद्र्धन आफ्नो बाबु मात्र नभई प्रजातन्त्र स्थापना र पञ्चायतविरुद्ध अन्दोलनमा सक्रिय योद्धा रहेको दाबी गर्नुभयो ।

वीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ जस्ता प्रजातन्त्रका लागि योगदान गरेका नेताको नामको प्रतिष्ठानलाई केन्द्र सरकारले बजेट दिने गरेको भन्दै पोखरेलले आफ्नो बाबु शर्माको नामको प्रतिष्ठानमा बजेट छुट्याएर अन्यथा नगरेको बताउनुभयो ।

कुनै व्यक्तिको नाममा पार्क बन्दा व्यक्तिगत नहुने उहाँले बताउनुभयो । मुख्यमन्त्री पोखरेलले विवादमा परेको स्मृति कोष र पार्क निर्माणको बजेट प्राथमिकताका अन्य क्षेत्रमा खर्च गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । प्रदेशको बजेट माथिको छलफल जारी छ । यही ३० गते बजेट पारित गर्ने सरकारको तयारी छ ।