
काठमाडौं । सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षीले पाउनुपर्ने माग राख्दै नेकपा एमालेले लेखा समिति बैठक बहिस्कार गरेको छ ।
मंगलबार समितिको वार्षिक प्रतिवेदनको विषयमा छलफल गर्न बोलाएको बैंठकमा वार्षिक प्रतिवेदनमा सभापति नहटेसम्म छलफलमा भाग नलिने भन्दै एमाले सांसदहरुले बैठक बहिस्कार गरेका हुन् ।
समितिको बैठकमा वार्षिक प्रतिवेदनको विषय भन्दापनि एमाले सांसदहरुले सत्ताको छाँयामा समिति पारेर एक वर्षसम्म कुनै बैठक नभएको भन्दै सभापतिप्रति आक्रोश व्यक्त गरेका थिए ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराइले समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेको भएपनि कांग्रेसले सरकारमा गएको १ वर्षसम्म पनि नेतृत्व नछाडेकोमा प्रश्न उठाउनु भयो । उहाँले अघिल्लो सरकारको समयमा सरकारले गरेका हरेक कामको विषयमा सरकारले गरेको काम गलत पुष्टि गर्नको लागि बारम्बार छलफल हुने गरेपनि नयाँ सरकार गठन भएको एक वर्षसम्म कुनैपनि बैठक नराखिएको भन्दै आपत्ति जनाउनुभयो । भट्टराईले सरकारले गरेको खर्चलाई परीक्षण गर्ने उचित दृष्टिकोण राख्ने काम सरकार आफैँ गर्नु नहुने भन्दै सरकारले खर्च गरेको परीक्षण प्रमुख प्रतिपक्षले गर्न पाओस् भनेर विपक्षलाई दिने चलन रहेको बताउनु भयो । उहाँले बैठकमा समिति सभापतिले सभापति छाडेर प्रमुख प्रतिपक्ष दललाई दिएपछि मात्रै यो बैठक अगाडि बढ्ने बताउनुभयो ।
यस्तै, बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले प्रमुख प्रतिपक्षको माग जाहेज भएको भन्दै समर्थन गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय मान्यता र लोकतान्त्रिक प्रणालीमा संसदको सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षले नै पाउनुपर्नेमा दुई मत नभएको बताउनुभयो । सांसद केसीले सभापतिले प्रधानमन्त्री तथा पार्टी सभापतिसँग कुरा गरेर सहज वातावरण बनाउनुपर्ने बताउनुभयो
यस्तै, सांसद गोकुल बास्कोटाले पछिल्लो एक वर्षमा संसदका अन्य समिति सक्रिय हुँदा लेखा समिति निष्क्रिय भएको बताउनुभयो । उहाँले एक वर्षमा ठूला ठूला बेथिति भएपनि समितिमा छलफल भए जवाफ दिनुपर्छ भनेर समितिलाई सत्ताको छायाँमा राखेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्