Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


कांग्रेसले बनायो अर्थतन्त्रमा कोरोनाको असर अध्ययन गर्न समिति


0
Shares

काठमाडौं, बैशाख २४ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीले नेपालको विभिन्न क्षेत्रमा पारेको असरबारे अध्ययन र विश्लेषण गर्न विशेष समिति गठन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पूर्वअर्थमन्त्री एवं केन्द्रीय सदस्य डा. रामशरण महतको संयोजकत्वमा १४ सदस्यीय विशेष समिति गठन गरेका हुन् ।

वैशाख १७ गते सम्पन्न केन्द्रीय समितिको निर्णयअनुसार नेपालमा कोभिड १९ को असर अध्ययन गरी पार्टीको दृष्टिकोण बनाउन गठित समितिमा विगतमा अर्थ मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हालेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका नेता र राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर नेतृत्व गरेका अर्थशास्त्री रहेका छन् ।

समितिमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा.नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चीनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह, उदयशम्शेर राणा रहेका छन् । त्यस्तै डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्ले रहेका छन् ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्ने कांग्रेसले जनाएको छ ।