सरकारले प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेकाे भन्दै एमालेको विरोध « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


सरकारले प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेकाे भन्दै एमालेको विरोध


117
Shares

काठमाठौं । नेकपा एमालेले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै विरोध जनाएको छ ।

प्रतिनिधिसभको आज साेमबारको बैठकमा समय माग गरेर बोल्दै एमाले सांसद नवराज सिलवालले सरकारले ८४ करोड रुपैयाँ बराबरको हतियार किन्नका लागि बजेट रकमान्तर गरेको भन्दै त्यसप्रति आपत्ति जनाउनुभएकाे हाे ।

उहाँले देशमा आर्थिक संकट आउन लागेको बेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गरेको बताउनुभयो । उहाँले हाल नेपाल प्रहरीलाई हतियार नचाहिएको भन्दै विचौलिया र राजनीतिक व्यक्तिलाई पैसा चाहिएकाले यो योजना अगाडि बढाइएको आरोप समेत लगाउनुभयो ।

उहाँले हतियारको कमिशन तीन सय प्रतिशतसम्म बढाएर रकमान्तर गरिएको बताउनुभयो । सांसद सिलवालले हाल नेपाल प्रहरीलाई हतियार नभई ब्यारेक र प्रविधि चाहिएको बताउनुभयो । प्रहरीलाई प्रविधि भित्राएर अनुसन्धान योग्य बनाउनुपर्ने एमाले सांसद नवराज सिलवालले बताउनुभयाे ।