काठमाडौं, वैशाख २३ । नेपालभर दैनिक एक लाख ग्यास सिलिन्डर बिक्री हुँदै आएकामा हाल ६० हजार ग्यास सिलिन्डरमात्र बिक्री भएका छन् ।
‘लकडाउन’ लम्बिँदै गएपछि ग्यास किन्ने उपभोक्ता कम हुँदा बिक्री घटेको एलपी ग्यास उद्योग संघले जनाएको छ ।
संघका अध्यक्ष गोकुल भण्डारीकाअनुसार लकडाउनका कारण ४० प्रतिशत ग्यास खपत कम भएको छ ।
काठमाडौं उपत्यकालगायत अन्य जिल्लामा सञ्चालन भएका ठूला उद्योग, होटल तथा रेस्टुराँ, विद्यालयजस्ता बढी चहलपहल हुने क्षेत्र बन्द छन् ।
यस्तै, धेरै उपभोक्ता उपत्यका छाडेर जाँदा पनि ग्यास खपत कम भएको उनको भनाइ छ ।
सबै ग्यास उद्योगसँग पर्याप्त मात्रामा ग्यास मौज्दात रहेको र आपूर्तिसमेत नियमित भएको पनि भण्डारीले बताएका छन् ।
ग्यास उद्योगसँग हाल १० हजार मेट्रिकटन ग्यास मौज्दात रहेको संघले जनाएको छ ।
देशभर रहेका ६२ ग्यास उद्योगसँग सात हजार मेट्रिकटन र बुलेटमा तीन हजार मेट्रिकटन ग्यास मौज्दात रहेको जनाइएको छ ।
६२ उद्योगका एक करोड २३ लाख सिलिन्डर छन् ।
ग्यासको सहज आपूर्ति भइरहेको र पर्याप्त मात्रामा भन्डारणसमेत भएकाले खाली सिलिन्डर भर्न भण्डारीले आग्रह पनि गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्