१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


अर्थतन्त्रलाई पूर्वअवस्थामा ल्याउने गरी मौद्रिक नीतिको तयारी : गभर्नर अधिकारी


0
Shares

काठमाडौं, वैशाख २३ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई पूर्ववत् अवस्थामा पुर्‍याउन सहज हुने वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको अर्थ समितिमा मंगलबार भएको छलफलमा गभर्नर अधिकारीले ‘कोभिड–१९’ बाट प्रभावित अर्थतन्त्रलाई पूर्वअवस्थामा ल्याउने गरी मौद्रिक नीतिको तयारी गरिरहेको जानकारी दिए ।

व्यापार–व्यवसाय गर्न रकमको अभाव हुन नदिने उनले बताए ।

गभर्नर अधिकारीले ‘लकडाउन’का कारण ऋण र निक्षेप बढ्न नसकेको एवं रेमिट्यान्स २० प्रतिशतसम्म घट्ने भएकाले केही चुनौती भने रहेको पनि बताए ।

उनले आगामी मौद्रिक नीतिमार्फत् ‘स्प्रेड’ दरमा पनि हेरफेर हुनसक्ने संकेत गर्दै वित्तीय संस्थाहको कर्जा प्रवाह बढाउन कार्यविधि तयार गरिरहेको पनि जानकारी दिए ।

अर्थमन्त्रीसमेत रहिसकेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रोजगारी सिर्जना र उत्पादनशील क्षेत्रमा कर्जा लगानी सहज बनाउनुपर्नेमा जोड दिए ।

यस्तै, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेशमा पढ्न गएका विद्यार्थीका अवस्थाबारे अध्ययन गर्न सुझाव दिए ।

उनले रोजगारी सिर्जना गर्न साना तथा मझौला क्षेत्रमा लगानी वृद्धिमा पनि जोड दिए ।

छलफलमा सांसदहरुले वैदेशिक रोजगारीबाट ठूलो संख्यामा श्रमिकहरु फर्कनसक्ने भन्दै राष्ट्र बैंकले रोजगारी सिर्जना र उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिएका थिए ।